परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः शनिबार भुटनदेवी माविमा नियमित पठनपाठन थिएन । तर, हेटौंडा उपमहानगर क्षेत्रका ४८ विद्यालयका ८ सय विद्यार्थीको उपस्थिति थियो । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ मा सहभागी हुन आएका विद्यार्थीबीच ९० पूर्णाङ्कको ४५ वटा प्रश्न वितरण गरी परीक्षा लिइएको थियो । एक शब्ददेखि बढीमा एक वाक्यमा उत्तर लेख्न सकिने प्रश्न उपलब्ध गराइएको थियो ।

६ कक्षादेखि १२ कक्षामा अध्ययन विद्यार्थीका अत्यन्त छोटा उत्तरका उत्तरपुस्तिका केही घण्टामै परीक्षण गर्न सकिने थियो । उत्तरपुस्तिका परीक्षण गर्दा १६ जना सहभागीले सत्प्रतिशत उत्तर मिलाए । त्यसपछि आयोजकले प्रथम, द्वितीय र तृतीय छुट्याउन गोला प्रथाको सहयोग लिनु पर्यो । गोला प्रथामा हेटौंडा–१० स्थित ज्ञानदा माविमा १० कक्षामा अध्ययनरत छात्रा जिनुका यादव प्रथम भइन् । प्रथम भएकी यादवले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । गोला प्रथामा हेटौंडा–१ स्थित अमर माविमा अध्ययनरत कक्षा १० की आयुष्मा भण्डारी दोस्रो हुँदै १० हजार नगद प्राप्त गरिन् । यस्तै, हेटौंडा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत सन्दिपा थापा क्षेत्री तेस्रोे हुँदै नगद ५ हजार प्राप्त गरिन् । सत्प्रतिशत उत्तर मिलाउने १३ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

संस्कृति परीक्षामा सहभागी विद्यार्थीहरु ।

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा संस्कृति परीक्षा भएको हो । हरेक वर्ष स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन हुँदै आएको छ । हेटौंडामा भने ३ वर्षअघि मात्रै परीक्षा भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा हिन्दु स्वयंसेवक संघ नेपालको नारायणी विभागका संघचालक एवम् कार्यक्रम संयोजक ह्यग्रीव आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।

आयोजकले नेपालको धर्म, संस्कृति, कला, साहित्य, राष्ट्रिय विभूति, भुगोल, प्रकृति, हिमाल, नदी–नालाका सामान्य ज्ञानका ६ सय ५० वटा प्रश्नोत्तर भएको पुस्तक १५ दिन अघि नै उपलब्ध गराइएको थियो । संस्कार, संस्कृति, भुगोलको बोध होस् भनेर यस किसिमको परीक्षा गर्ने गरिएको छ । छोटो अवधिको तयारीमा सामान्य तर महत्वपूर्ण ज्ञान हासिल गर्न प्रेरित भएको पाइएको कार्यक्रम संयोजक आचार्य बताउनुहुन्छ ।