मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजिनामा बुझाउनुहुँदै राप्रपा संसदीय दलका नेता उद्धव थापा ।

हेटौंडाः संघीय सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट पनि बाहिरिएको छ । राप्रपाबाट बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री उद्धव थापा, वन तथा वातावरण मन्त्री राजु विष्ट र उद्योग, पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङले शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजिनामा बुझाएका हुन् ।

शनिबार दिउँसो २ बजे नै मुख्यमन्त्रीलाई राजिनामा बुझाउने बताइए पनि मन्त्री राजु विष्ट काठमाडौंबाट आउन ढिलाई भएका कारण साँझ ८ बजे मात्रै राजिनामा बुझाइएको हो । उद्धव थापाले पुस २५ बिना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गर्नुभएको थियो । मन्त्री परिषद् विस्तारपछि माघ ११ गते थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो ।

राप्रपाका मन्त्रीहरुको संयुक्त राजिनामा पत्र ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी राजु विष्टले पाउनुभएको थियो भने उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मा डम्बर बहादुर तामाङले पाउनुभएको थियो । यसअघि राप्रपा संसदीय दलका नेता समेत रहनुभएका उद्धव थापाले शनिबार प्रदेश सभालाई सम्बोधन गर्नुहुँदै सरकार छाड्ने घोषणा गर्नुभएको थियो ।

प्रदेश सभालाई सम्बोधन गर्नुहुँदै उद्धव थापाले छोटो समय सरकारमा रहँदा उल्लेखनीय कार्य गर्न नसके पनि आगामी दिनमा प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । सत्तामा जानु मात्रै गन्तव्य नभएको उल्लेख गर्नुहुँदै थापाले भन्नुभयो, “हाम्रो गन्तव्य टाढा छ । हामी प्रतिपक्षमा बस्छौं । हामी जनताको प्रतिनिधित्व गर्दै जनताको आवाज बोल्छौं ।”