हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ । लकडाउनका कारण होटल, रेष्टुरेन्ट बन्द हुँदा भेँडे खुर्सानीको खपत कम भएसँगै बजारमूल्यमा कमि आएको व्यवसायी गोविन्द दाहालले बताउनुभयो । हिजो शनिबार प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको भेँडे खुर्सानी आज २५ रुपैयाँमा कारोबार भएको छ । हिजोको तुलना आज बजारमा बढी तरकारी आएको र विक्री पनि सन्तोषजनक भएको व्यवसायी दाहालले बताउनुभयो ।

हिजो प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको बोडी आज ४५ रुपैयाँमा कारोबार भएको छ । यस्तै करेला ६० रुपैयाँबाट ५५ रुपैयाँमा कारोबार भएको छ भने भिन्डी ७० रुपैयाँबाट घटेर ५५ रुपैयाँमा विक्री भएको छ । आज काउलीको मूल्यमा पनि केही कमि आएको छ । हिजो प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको काउली आज १२ रुपैयाँदेखि १५ रुपैयाँमा कारोबार भएको छ । हिजो बजारमा मटरकोसा आएकै थिएन भने आज पनि कम आएको र प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भएको छ ।

हरियो फर्सी हिजो प्रतिकेजी २० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँमा कारोबार भएको छ । रायोगको साग प्रतिमुठा हिजो २० रुपैयाँमा कारोबार भएको थियो भने आज १५ रुपैयाँमा कारोबार भएको छ । च्याउ प्रतिकेजी ११० रुपैयाँमा कारोबार भएको छ भने रुख कटहर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ ।