हेटौंडाः बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले मन्त्रालयको प्राथमिकताहरू सार्वजनिक गर्नुभएको छ । मन्त्री नियुक्त हुनुभएको एक महिना पुगेको दिन आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्राथमिकता सार्बजनिक गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले श्रम, रोजगार र यातायात तीनै क्षेत्रमा प्राथमिकताहरू तयार पार्नुभएको छ । ३४ बुँदे प्राथमिकतामा मन्त्री श्रेष्ठले श्रमिक डेस्क स्थापना गर्ने, आप्रवासी सूचना केन्द्र विस्तार गर्ने, १० हजार युवालाई सीपमूलक तालिम सन्चालन गर्ने, २ वटा तालिम केन्द्र स्थापना गर्ने, विज्ञ समूह गठन गरी स्वदेशमै रोजगारी सिर्जना हुने क्षेत्रको पहिचान गर्ने उल्लेख गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले दोलखा वा सिन्धुपाल्चोक र धादिङमा यातायात कार्यालय स्थापना गर्ने, सवारी अभिलेखलाई डिजिटलाइजेसन गर्ने, अनलाईनमार्फत सेवा प्रदान गर्ने, सवारी चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया सरल र सहज बनाउने, यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टर काठमाडौं, हेटौंडा र भरतपुरमा आफ्नै स्वामित्वमा सन्चालन गर्ने योजना प्रस्तुत गर्नुभएको छ ।