हेटौंडाः विनाशकारी भूकम्प परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा आज शुक्रबार हेटौंडाको एक वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले आफ्ना पूर्वसदस्य भोम्जनको स्मृतिमा वृद्धाश्रमलाई मञ्चको मकवानपुर समन्वय शाखामार्फत् नगद दशहजार रुपैयाँ सहयोग गरेको हो । भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी निधन भएको थियो ।
मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, सुमन भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गतेको दिनमा मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण जिल्ला शाखामार्फत् आश्रमलाई सहयोग उपलब्ध गराइएको जिल्ला अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार २०७२ साल बैशाख १२ गते भूकम्प आएको भएपनि वैशाख १९ गते भोम्जनको शव भेटिएको दिन स्मृति दिवस मनाउने गरिएको छ । सुमन भोम्जन खेलकुद पत्रकार मञ्च मकवानपुरका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।