हेटौंडा–४, हुप्रचौरस्थित जिल्ला कृषि सहकारी संघ मकवानपुरको कृषि मार्टमा तरकारी प्याकेजिङ गर्दै सहकारी बैंक हेटौंडाका एक कर्मचारी ।

हेटौंडाः मकवानपुर जिल्लाका सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थामार्फत आज हेटौंडामा चार हजार तीन सय केजी तरकारी वितरण भएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाबाट ल्याइएको तरकारी सहकारी संस्थाहरुको समन्वयमा सहकारीका सेयर सदस्यलाई वितरण गरिएको हो । सहकारीले एक दिन बिराएर तरकारी वितरण गर्न सुरु गरेको छ । बुधबारबाट सुरु भएको तरकारी वितरण कार्य आज दोस्रो पटक वितरण गरिएको हो ।

जिल्ला सहकारी संघ मकवानपुरको समन्वयमा जिल्ला कृषि सहकारी संघको हेटौंडा–४, हुप्रचौरस्थित कृषि मार्टबाट प्याकेजिङ गरेर तरकारी वितरण गरिएको हो । आज तीन हजार एक सय केजी काउली, नौ सय ९० केजी मुला, दुई सय ४० केजी मटरकोसा र ७० केजी धनियाँ विक्री गरिएको जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक सहकारी संस्थामार्फत उपभोक्ताको माग उच्च भए पनि उत्तरीक्षेत्रका किसानको कुल पुजाका कारण पर्याप्त तरकारी ल्याउन सकिएन । सहकारीले साढे ४ केजी र साढे ३ केजी गरी दुई प्रकारले प्याकेजिङ गरी तरकारी वितरण गरिएको जनाएको छ ।

हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा तरकारी खरिद गर्न आएका उपभोक्ता ।

आज सबैभन्दा बढी हेटौंडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले दुई सय प्याकेट तरकारी वितरण गरेको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो । अन्य सहकारीको पनि माग अनुसार तरकारी वितरण गर्न नसकिएको उहाँको भनाइ छ । धेरै तरकारी माग गर्ने सहकारीलाई प्याकेजिङको पनि जिम्मा दिएर वितरण गरिएको व्यवस्थापक आचार्यले बताउनुभयो । तरकारीको प्याकेजिङका लागि सहकारी संघकै कर्मचारी खटिएका छन् भने बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तरकारी वितरणका लागि एउटा जीप उपलब्ध गराएको छ ।