हेटौंडाः मकवानपुरमा तीन दिवशीय शालक दिवश मनाइने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिबार मनाइने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा तीन दिवशीय कार्यक्रम गरेर मनाइने भएको हो ।

यो वर्ष “सालक संरक्षणमा समुदायको नेतृत्व” भन्ने नाराका साथ तीन दिन विविध कार्यक्रम गरेर फागुन ४, ५ र ६ गते विश्व सालक दिवस मनाइने डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, साना जीवको पक्षमा काम गर्ने संस्था, र ग्रीनहुड नेपालको आयोजनमा विविध कार्यक्रमसहित दिवश मनाइने उहाँले बताउनुभयो ।

प्रमुख आचार्यका अनुसार दिवशको अवसरमा फागुन ४ गते जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, विज्ञ, संचारकर्मी लगायत सरोकारवालाको सहकार्यमा पेङ्गुइन राउण्ड टेबल कार्यक्रम आयोजना हुनेछ । जसमा मकवानपुरमा सालक संरक्षणको विगतको अनुभव आदानप्रदान गरिने र आगामी दिनमा मकवानपुरमा गरिने सालकको विभिन्न कामको विषयमा छलफल गरिनेछ ।

फागुन ५ गते डिभिजन वन कार्यालय राप्ती परिसर मनहरीमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री, जिल्ला समन्वय समिति प्रमुखलगायत स्थानीय तहका जनप्रतिनिधि, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितिमा मुल कार्यक्रम गर्नुका साथै सालक संरक्षण सम्बन्धी गीत लोकार्पण हुनेछ । यसका साथै स्थानीय समुहद्वारा सालक संरक्षणका लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कविता वाचन, सालक सम्बन्धी फेस पेन्टिङ, चेतनामुलक वृत्तचित्र प्रदर्शन, सालकको मुकुण्डोसहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना हुने उहाँले बताउनुभयो । यस्तै तेस्रो तथा अन्तिम दिन फागुन ६ गते लामो समयदेखि सालक संरक्षणमा भूमिका खेल्दै आएको मकवानपुरको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासँग छलफल कार्यक्रमको आयोजना गरिने आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार संसारभर ८ प्रकारका सालक पाइन्छ । जसमध्ये नेपालमा २ प्रकारका कालो (चाइनिज प्यान्गोलिन) र तामे सालक (इन्डियन प्यान्गोलिन) पाइन्छ र मकवानपुरमा दुवै प्रकारको पाइने विश्वास गरिएको छ । मकवानपुरको रानी, चुच्चेखोला लगायत केहि सामुदायिक वनमा सालक संरक्षणका केहि काम भए तापनि अन्यत्र यकिन तथ्यांक नभएको तर डिभिजन वन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार मकवानपुरका करिव १०० वटा सामुदायिक वनमा यसको दुलो फेला परेको उहाँले बताउनुभयो । सालक संरक्षणका लागि जिल्लास्तरको कार्ययोजना बनाउने तयारी गरिएको र सालकलाई मकवानपुरको गौरवको प्राणि घोषणा गर्ने अभियानमा रहेको समेत उहाँले बताउनुभयो । जसका लागि सबै सरोकारवालालाई समन्वय र सहजीकरण गर्न उहाँले आग्रह समेत गर्नु भयो ।

“जिल्ला समन्वय समिति, १० वटै स्थानीय तह, वन तथा वातावरण मन्त्रालय, निर्देशनालय तथा साझेदारी संस्थालगायतको सहकार्यमा विस्तृत अध्ययन, एक्सन प्लानको निर्माण पश्चात हामी सालकलाई मकवानपुरको गौरव प्राणि घोषणा गर्ने अभियानमा छौं । सालक मुलतः मासु, खपटाका लागि अवैध रुपमा मारिनुका साथै कतिपय स्थानमा जनचेतनाको अभावमा पनि यसको शिकार हुने गरेको उहाँले बताउनुभयो । जनचेतना, कानुनको प्रभावकरी कार्वान्वयन, सबैको साझेदारको अपनत्व ग्रहणले मात्र सालक जोगाउन सकिने हुँदा सालक संरक्षणमा सहयोग गर्न तथा विश्व सालक दिवशको कार्यक्रम सफल पार्न समेत उहाँले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।