हेटौंडाः लागुऔषध गाँजासहित ट्रक र ट्रकका सहचालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राती साढे ११ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेमा रोकी राखेको ना ६ ख ४५२० नम्बरको कन्टेनर ट्रकलाई सशस्त्र प्रहरीले १२ वटा पोकामा १ सय ५८ केजी लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।
मकवानपुरको थाहा नगरपालिकाबाट आएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले सहचालक जिल्ला मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सहचालक, बरामद गाँजा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।