किसानलाई अनुदान रकम वितरण गर्नुहुँदै वडा अध्यक्ष ललित घलान ।

हेटौंडाः हेटौँडा–१२, पदमपोखरीका पशुपालक कृषकहरुलाई अनुदान दुधमा अनुदान रकम वितरण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदान गरेको अनुदान रकम जनसेवा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका सदस्यहरुलाई आज शुक्रबार वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा सहकारी संस्थामार्फत दुध विक्री गरेका कृषकहरुले विक्री गरेको दुधको परिमाणको आधारमा प्राप्त अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिनुभयो । कृषकहरुले उक्त अवधीमा दुग्ध विक्री गरेको परिमाणको आधारमा मन्त्रालयबाट २ लाख ७८ हजार ४ रुपैयाँ अनुदान रकम प्राप्त भएको थियो । अनुदान रकमबाट संस्थामा आवद्ध घरेडीडाँडा, हात्तिगौँडा लगायतका कृषकहरु लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी हेटौंडा–१२, पर्तीटोलका पृथ्वीनारायण योञ्जनले आठ हजार २६ रुपैयाँ अनुदान रकम बुझ्नुभएको छ ।

जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाले एक सय ७० जना किसानलाई अनुदान रकम वितरण गरेको व्यवस्थापक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले तीन वर्षदेखि अनुदान रकम वितरण गर्दै आएको छ । प्रदेश सरकारबाट गत वर्ष र यस वर्ष गरी दुई पटक अनुदान रकम किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो । अनुदान वितरण कार्यक्रम सहकारीका अध्यक्ष मधुसुदन नेपालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललितबहादुर घलानको उपस्थितिमा भएको थियो ।