गुगल तस्वीर ।

लकडाउन नभएको भए आज मजदुरका पक्षमा सत्तारुढ र प्रतिपक्षी दुबै दलले मजदुरको पक्षमा बहादुरीपूर्ण भाषण गर्ने थिए । भव्यमञ्चमा देशका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीले पनि ठूलै कुरा गर्ने अवसर रहन्थ्यो । तर, कोरोना भाइरसको संक्रमणको जोखिमले अहिले मुलुक लकडाउनको अवस्थामा रहँदा मजदुर दिवसमा मजदुर हातमुख कसरी जोड्ने भन्ने चिन्तामा छन् । मजदुर दिवसमा मजदुरलाई राहत बाँड्न समेत ध्यान पुगेको देखिएन । १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसकै सन्दर्भमा हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले देश बनाउन खटिने मजदुरले रुन नपरोस् भनी कवितामा आफ्ना भावना व्यक्त गर्नुभएको छ ।

हाम्रो देशमा मजदुरलाई रुन नपरोस् ।।

राजिव झा

सबैको लागि महल बनाउनेल आफु टहरामा बस्न नपरोस् ।
सबैको लागि अन्न उत्पादन गर्नेले आफु भोकै सुत्न नपरोस् ।
सबैको लागि स्कुल बनाउनेको छोराछोरीलाई स्कुल बाहिर बस्न नपरोस् ।
सबैको लागि अस्पताल बनाउनेको छोराछोरीलाई उपचारको अभावमा बिरामी हुन नपरोस् ।
हाम्रो देशमा मजदुरलाई रुन नपरोस् ।।

शान्तिको प्रतिक बुद्धको मूर्ति बनाउनेको घरमा, आर्थिक अभावले अशान्ति देख्न नपरोस् ।
दीपावलीको दियो बनाउनेको घरमा अँध्यारो देख्न नपरोस् ।
मिठो र मासु खानलाई चुनावनै हुन नपरोस् ।
नयाँ लुगा लगाउनलाई ईद र दशैं कुर्न नपरोस् ।
हाम्रो देशमा मजदुरलाई रुन नपरोस् ।।

टन्टलापुर घाममा रगतझै पसिना बगाउने, श्रमशोषणको चपेटामा नपरोस् ।
शितलहरमा पनि देश निर्माण गर्नेलाई कठ्याङग्रीएर मर्न नपरोस् ।
गाडी बनाई अरुको जिवन सजिलो पार्नेको, आफ्नो जीवनयापनमा धौ–धौ नपरोस् ।
सबैको लागि घरसम्मै सडक बनाउनेलाई, आफु सडकमै जिवन बिताउन नपरोस् ।
हाम्रो देशमा मजदुरलाई रुन नपरोस् ।।