हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबारबाट सुरु भएको छ । आज आइतबार नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै पूरा नगर्दा जनप्रतिनिधिले सजाय भोग्न बाध्य भएको बताउनुभयो ।
व्यवसायीले निर्माण कार्य समयमै पूरा नगर्दा जनताले जनप्रतिनिधिलाई गाली गर्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “निर्माण व्यवसायीको भूमिका राम्रो भए चाँडै मुलुकको विकास र समृद्धि सम्भव हुन्छ । ठेकेदारले काम गर्दैनन् भन्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।” काठमाडौंबाट प्रदेशको राजधानी हेटौंडा आउने बाटोको दूरावस्था रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले अब सरकारले कठोर कदम चाल्नुपर्ने अवस्था सृजना भएको स्पष्ट पार्नुभयो । गैरजिम्मेवार व्यवसायीप्रति कठोर हुनु सरकारको रहर नभई बाध्यता भएको पनि उहाँको भनाइ थियो । व्यवसायी जनता र राज्य दुवैतर्फ उत्तरदायी हुनुपर्ने सुझाव मन्त्री श्रेष्ठको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी शेर्पाले निर्माण व्यवसायीको आफ्नै कमजोरीले ९० प्रतिशत व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो । व्यवसायीले ठेक्काको विस्तृत विवरण नबुझी ठेक्का सम्झौता गर्ने, समयमै काम पूरा गर्न ध्यान नदिने अवस्थाकै कारण व्यवसायी समस्यामा परेको उहाँको भनाइ थियो । कर्मचारीको भर परेर व्यवसायी समस्यामा पर्ने गरेको अवस्था आएको बताउनुहुँदै शेर्पाले भन्नुभयो, “हामी व्यवसायीले वार्षिकरुपमा तालिम लिनुपर्छ । विद्यमान कानुन, विधि, प्रविधिका बारेमा पनि बुझ्न जरुरी छ ।” बढीमा ५ वटा ठेक्का लिएर काम गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई ठूलो राहत मिलेको शेर्पाले बताउनुभयो । ठेक्का सम्झौताको अवधिमा रहेको कच्चा पदार्थको मूल्य बढ्दा सरकारले त्यो मूल्य व्यहोरिदिनुपर्ने पनि शेर्पाको दावी थियो ।
साधारणसभाको उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित मकवानपुरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखको पनि आतिथ्य रहेको थियो । साधारणसभाको अवसरमा व्यवसायी, पत्रकारलाई सम्मान समेत गरेको थियो ।
प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सर्वसम्मत
हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षका लागि निवर्तमान अध्यक्ष श्याम ढकाल र प्रथम उपाध्यक्ष बालगोपाल कँडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार हेटौंडामा सुरु निर्वाचन प्रक्रियामा ढकाल र कँडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । यता प्रथम उपाध्यक्षमा सगर कटुवाल, महासचिवमा राजेन्द्र चौलागाई र कोषाध्यक्षमा अनल श्रेष्ठ सर्वसममत निर्वाचित हुनुभएको छ ।
ढकाल र कँडेल प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् । प्रथम उपाध्यक्षमा आकाश गोले र नवीन पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि कटुवाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस्तै महासचिवमा विनोद शर्माले उम्मेदवारी फिर्ता लिनुभएसँगै चौलागाई सर्वसम्मत हुनुभएको हो । कोषाध्यक्षका आकांक्षी वुद्धिराज कँडेल (उज्ज्वल) ले उम्मेदवारी फिर्ता लिनुभएपछि श्रेष्ठ सर्वसम्मत हुनुभएको हो ।
द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, उपमहासचिव नीतिगत र आन्तरिक, सहकोषाध्यक्ष, ८ जना कोषाध्यक्षका लागि आज आइतबार मतदान हुनेछ । ८ जना सदस्यका लागि १४ जनाको आवेदन परेको छ । ढकाल प्यानलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र समेत सहभागी छ । कँडेल र ढकाल दुबै नेपाली काँग्रेस सम्वद्ध व्यवसायी हुन् ।