आँखा परिक्षण गर्दै । फाइल तस्विर ।

हेटौंडाः मकवानपुर र रौतहटमा गरिएको आँखा शिविरमा एक सय जनामा मोतिविन्दुको समस्या पहिचान भएको छ । रोटरी क्लब अफ हेटौंडा, रोट्र्क्याक्ट क्लब अफ हेटौं८ा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिकाको सुनाचुरीस्थित राष्ट्रिय माविमा एक सय ५० जनाको आँखा परीक्षण गर्दा २० जनामा मोतिविन्दु पाइएको छ । यस्तै रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ स्थित सन्तपुरमा चार सय जनाको आँखा परीक्षण गर्दा ८० जनामा मोतिविन्दु पाइएको निशूल्क आँखा शिविर कार्यक्रमका संयोजक प्रमेश प्रधानले जानकारी दिनुभयो । मोतिविन्दु पहिचान भएका मध्ये रौतहटबाट ६४ जना र सुनाचुरीबाट १४ जना गरी ८० जनालाई बिहीबार नै हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पताल ल्याइएको छ । मोतिविन्दु भएका विरामीको आज शुक्रबार शल्यक्रिया गरिनेछ ।

आज शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जाल्पादेवी माविमा निःशुल्क आँखा शिविर हुनेछ । आजै बारा जिल्लाको जितपुर–सिमरा–१० स्थित प्रमानन्द नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर हुनेछ । शिविरमा आँखा परिक्षण गराउँदा मोतिविन्दु समस्या देखिएका बिरामीहरुलाई शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने जनाएको छ ।