हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) अभ्यास परीक्षा सुरु भएको छ । बिहीबारदेखि अभ्यास परीक्षा सुरु भएको हो । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा हेटौंडा उपमहानगर क्षेत्रका २४ वटा विद्यालयसँगै मकवानपुरगढी गाउँपालिकाका १० र मनहरी गाउँपालिकाको एउटा गरी कुल ३५ वटा विद्यालयमा एसइइ तयारी कक्षा सुरु भएको छ । ३५ वटा विद्यालयका दुई हजार एक सय ३२ जना विद्यार्थी सहभागी भएको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।
हेटौंडा उपमहानगर क्षेत्रका २४ वटा विद्यालयका एक हजार नौ सय विद्यार्थी परीक्षामा सहभागी छन् । हेटौंडा उपमहानगरका २८ वटा सामुदायिक विद्यालय मध्ये हेटौंडा–३, लेवटस्थित बालउज्ज्वल मावि, हेटौंडा–६, चौघडास्थित वंशगोपाल मावि, हेटौंडा–१४ स्थित जनज्योति मावि र हेटौंडा–१५, चुरियामाईस्थित चुरियामाई मावि नगरस्तरीय शैक्षिक समन्वय समितिले सञ्चालन गरेको परीक्षामा सहभागी छैन । पठनपाठन भएको पाठ्यक्रमको तालमेल नमिलेका कारण आफ्नै अनुकुलमा परीक्षा सञ्चालन गर्ने योजना बनाएकोले ४ वटा विद्यालय नगरस्तरीय समन्वय समितिले समन्वय गरेको परीक्षामा सहभागी नभएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकाका १० वटा विद्यालयबाट दुई सय ४८ जना विद्यार्थी परीक्षामा सहभागी छन् भने मनहरी गाउँपालिकाको महेन्द्र ज्योति माविका ४४ जना विद्यार्थी अभ्यास परीक्षामा सहभागी छन् । अभ्यास परीक्षा फागुन ५ गते सम्पन्न हुनेछ । यसअघि निजी विद्यालयले माघ १५ गतेदेखि नै एसइइ अभ्यास परीक्षा सञ्चालन गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि एसइइ को तालिका सार्वजनिक गरेको छ ।