हेटौंडाः चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मकवानपुरमा एक सय १७ वटा लैंगिक हिंसाको उजुरी परेको छ । आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म मकवानपुर जिल्लाका विभिन्न पालिका तथा जिल्लाबाहिरका समेत एक सय १७ वटा लैंगिक हिंसाको उजुरी परेको हो ।
हेटौंडा उपमहानगरबाट ३१ जना र थाहा नगरपालिकाबाट २ जनाले लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता गरेका छन् । मकवानपुरको अन्य ८ पालिकाबाट ५४ र अन्य जिल्लाबाट ३० जनाले उजुरी दर्ता गरेका छन् । उजुरी दिनेमध्ये १० वर्षसम्म उमेर भएका ९ जना छन् । ११ देखि १८ वर्ष उमेर समूहका ७० जना, १९ देखि ३० वर्ष उमेर समूहका ४४ जनाले उजुरी दर्ता गरेका हुन् । यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २८ जना, ४१ देखि ५० वर्ष उमेर समूहका ३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ३ जनाले उजुरी दर्ता गरेका छन् ।
उल्लेखित तथ्यांकअनुसार सबैभन्दा बढी किशोरकिशोरीहरु हिंसामा परेको हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो । उहाँले मकवानपुर जिल्लाको लैंगिक स्थितिसम्बन्धी विश्लेषण एवम् अभिमुखीकरणलाई सहजीकरण गर्नुहुँदै सबै महिलाहरुलाई एकैरुपमा नदाँज्नसमेत आग्रह गर्नुभयो । जिल्लाका सेवा केन्द्रबाट सेवा प्राप्त गरेका प्रभावित/पीडितको संख्यालाई हेर्दा २५ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो । दर्ता भएका २५ वटै उजुरी फछ्र्यौट भएको र अघिल्लो वर्षको ३ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० का लागि लैंगिक क्षेत्रमा उपमहानगरपालिकाबाट २ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको महाशाखा प्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडालक्षित ५४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । प्राप्त बजेटअनुसार उपमहानगरले लैंगिक हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन आश्रयस्थल, सेफ हाउस निर्माण र सबै वडामा मानवबेचविखन तथा ओसारपसारविरुद्व समिति गठनजस्ता कार्यहरु गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, कोसेली घर सञ्चालन र स्तनपान कार्यालयको व्यवस्था उपमहानगरले गरेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको विश्लेषण तथा अभिमुखीकरण कार्यक्रममा मकवानपुरका पालिका तथा वन डिभिजन कार्यालयहरुले आ–आफ्ना क्षेत्रमा भएका प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रम लैंगिक समता हासिल गर्ने उद्देश्यले भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईंटेलले स्वागत मन्तव्य राख्नुभयो ।