Home मुख्य समाचार मकवानपुरमा एक सय १७ वटा लैंगिक हिंसाको उजुरी, किशोरकिशोरीहरु बढी हिंसामा

मकवानपुरमा एक सय १७ वटा लैंगिक हिंसाको उजुरी, किशोरकिशोरीहरु बढी हिंसामा

तस्बिरः गुगल


हेटौंडाः चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मकवानपुरमा एक सय १७ वटा लैंगिक हिंसाको उजुरी परेको छ । आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म मकवानपुर जिल्लाका विभिन्न पालिका तथा जिल्लाबाहिरका समेत एक सय १७ वटा लैंगिक हिंसाको उजुरी परेको हो ।

हेटौंडा उपमहानगरबाट ३१ जना र थाहा नगरपालिकाबाट २ जनाले लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता गरेका छन् । मकवानपुरको अन्य ८ पालिकाबाट ५४ र अन्य जिल्लाबाट ३० जनाले उजुरी दर्ता गरेका छन् । उजुरी दिनेमध्ये १० वर्षसम्म उमेर भएका ९ जना छन् । ११ देखि १८ वर्ष उमेर समूहका ७० जना, १९ देखि ३० वर्ष उमेर समूहका ४४ जनाले उजुरी दर्ता गरेका हुन् । यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २८ जना, ४१ देखि ५० वर्ष उमेर समूहका ३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ३ जनाले उजुरी दर्ता गरेका छन् ।

उल्लेखित तथ्यांकअनुसार सबैभन्दा बढी किशोरकिशोरीहरु हिंसामा परेको हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो । उहाँले मकवानपुर जिल्लाको लैंगिक स्थितिसम्बन्धी विश्लेषण एवम् अभिमुखीकरणलाई सहजीकरण गर्नुहुँदै सबै महिलाहरुलाई एकैरुपमा नदाँज्नसमेत आग्रह गर्नुभयो । जिल्लाका सेवा केन्द्रबाट सेवा प्राप्त गरेका प्रभावित/पीडितको संख्यालाई हेर्दा २५ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो । दर्ता भएका २५ वटै उजुरी फछ्र्यौट भएको र अघिल्लो वर्षको ३ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० का लागि लैंगिक क्षेत्रमा उपमहानगरपालिकाबाट २ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको महाशाखा प्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडालक्षित ५४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । प्राप्त बजेटअनुसार उपमहानगरले लैंगिक हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन आश्रयस्थल, सेफ हाउस निर्माण र सबै वडामा मानवबेचविखन तथा ओसारपसारविरुद्व समिति गठनजस्ता कार्यहरु गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, कोसेली घर सञ्चालन र स्तनपान कार्यालयको व्यवस्था उपमहानगरले गरेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको विश्लेषण तथा अभिमुखीकरण कार्यक्रममा मकवानपुरका पालिका तथा वन डिभिजन कार्यालयहरुले आ–आफ्ना क्षेत्रमा भएका प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रम लैंगिक समता हासिल गर्ने उद्देश्यले भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईंटेलले स्वागत मन्तव्य राख्नुभयो ।

Exit mobile version