क्षमता विस्तारपछि होटल बासुकला ।

हेटौंडाः अर्थतन्त्रमा परेको संकटका कारण बजार क्षेत्रका पसलका सामान होइन पसल नै बिक्रीमा छ । व्यवसाय चलाउनु भन्दा बन्द गर्नुमा कम घाटा छ । यस्तो परिस्थितिमा पनि केही व्यवसायीले आफ्नो व्यावसायिक क्षमता बढाउन अग्रसर छन् । यस्तै सीमित व्यवसायीमध्येको एक हो हेटौंडा–४, पारिजातपथस्थित होटल बासुकला फास्ट फुड ।

बाबु पुस्ताले सञ्चालनमा ल्याएको सामान्य खाजा घरलाई केही वर्षदेखि छोरा पुस्ताले सम्हाल्दै आएको थियो । बाबु केशव बासुकलाले सञ्चालन गर्दै आएको खाजा घरलाई छोरा विकास बासुकलाले फास्टफुडको रुपमा खाजा घरलाई विस्तार गरेको हो । फास्टफुड व्यवसायमा सेवाग्राहीको विश्वास आर्जन गरेको होटल बासुकलाले स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा पारेर मंगलबारदेखि क्षमता विस्तारको औपचारिक उद्घाटन गरेको छ ।

२९ औं वार्षिकोत्सव मनाउँदै होटल बासुकला परिवार ।

साविकको अवस्थामा एकैपटक १८ जनालाई सेवा गर्न सक्ने होटल बासुकलाले अहिले एक साथ ५४ जनालाई सेवा गर्न सक्ने गरी क्षमता बढाएको छ । करिब २० लाख रुपैयाँ लगानी गरेर क्षमता विस्तार गरेको सञ्चालक विकास बासुकला बताउनुहुन्छ । होटललाई आकर्षक बनाउँदै क्षमता विस्तार गरिए पनि सेवाशूल्क भने साविककै कायम गरिएको बासुकला बताउनुहुन्छ ।

आकर्षक स्वरुपमा तयार पारिएको होटल बासुकला ।

नेवारी खाजा घरको रुपमा सुरुवात गरिएको होटल बासुकलाले छिटो र स्वादिलो खाजा पस्कने सञ्चालकको दावी छ । नेवारी लोकप्रिय परिकार योमरी नियमित विक्रीका लागि राखिने जनाउँदै सञ्चालक विकास बासुकलाले भन्नुभयो, “सेवाग्राहीलाई सन्तुष्टी दिलाउँदै उपयुक्त मूल्यमा सेवा प्रवाह गर्दा व्यावसायिक लाभ र उपभोक्ताको आकर्षण दुवै प्राप्त भएको छ ।”