हरेक वर्ष फ्रेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । यस वर्ष पनि शनिबार क्यान्सरको बारेमा जनचेतना फैलाउँदै विश्वभर क्यान्सर दिवस मनाइएको छ । क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वजगतलाई प्रत्यक्ष–अप्रत्यक्षरुपमा पुर्याएको क्षति र भविष्यमा अझ पुर्याउन सक्ने हानिलाई रोक्न सन् २००० फेब्रुअरी ४ का दिन फ्रान्सको राजधानी पेरिसमा शिखर सम्मेलन सम्पन्न भयो । नयाँ सहस्राब्दीमा क्यान्सरसम्बन्धी अनुसन्धान, रोकथाम, सेवा सुविधा विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विश्व समुदाय एकजुट भएर क्यान्सरविरुद्ध लड्ने प्रतिबद्धताका साथ उक्त शिखर सम्मेलन समापन भएको थियो । त्यसपछि हरेक वर्ष फेब्रुअरी ४ का दिन यूआईसीसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) को अग्रसरतामा विभिन्न नारासहित यो दिवस मनाउने गरिएको छ । नेपालमा ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस मनाइएको छ । अन्तर्राष्ट्रियरुपमा सन् २०२२–२०२४ को क्यान्सर दिवसका लागि ‘क्लोज दी केयर ग्याप’ नारा दिइएको छ । यसअघि सन् २०१९ देखि २०२१ सम्म ‘म छु र म हुनेछु’ भन्ने नारा दिएर दिवस मनाइएको थियो ।

शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो । क्यान्सरले बच्चावृद्ध, धनी–गरिब, फरक धर्म, जात र वर्ण केही भन्दैन । नङ र रौँबाहेक मानव शरीरका हरेक अङ्गमा २०० भन्दा बढी प्रकारका क्यान्सरहरु लाग्न सक्छ । क्यान्सर नसर्ने रोग हो, यसको सही समयमा उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ । क्यान्सर लागेको अङ्ग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने चिकित्सकहरुको धारणा छ । विश्वमा मुटुरोगपछि सबैभन्दा बढी मृत्यु गराउने रोग क्यान्सर बनेको छ । एक वर्षमा करिब एक करोड क्यान्सरका बिरामीको मृत्यु हुने गरेको तथ्यांक छ । हरेक वर्ष एक करोड ८० लाख क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । यही गतिमा क्यान्सर बढ्दै जाने हो भने सन् २०४० मा करिब ३ करोड क्यान्सरका नयाँ बिरामी हुनसक्ने आँकलन गरिएको छ । चुरोट, रक्सी, सुर्तीजन्य वस्तुको प्रयोग बढ्नु, अखाद्य वस्तुको सेवन, मोटोपन, नियमित शारीरिक व्यायाम नगर्नु, वातावरण प्रदूषण, स्वस्थकर खानपानको कमी, बढ्दो औसत आयुलाई क्यान्सरको मुख्य कारक मानिन्छ । केही क्यान्सर भाइरसको संक्रमले गराउँछ भने केही क्यान्सर वंशाणुगत हुने गर्छ ।

यो रोग उमेर ढल्किँदै गरेका मानिसमा हुने भन्ने गरिएको भए पनि बालबालिकामा समेत क्यान्सर देखिने गरेको छ । महिलामा स्तन र पाठेघरको तथा पुरुषमा प्रोस्टेट र फोक्सोको क्यान्सर बढी हुने गरेको पाइन्छ । घाँटी र फोक्सोको क्यान्सर महिला र पुरुष दुबैलाई हुने गरेको छ । केटाकेटीमा रगतको क्यान्सर बढी देखिने गरेको छ । उपचार खर्चको आधारमा न्यून आय भएका मानिसका लागि क्यान्सर जटिल रोग बनिरहेको छ । क्यान्सर लागेपछि मृत्यु भइहाल्ने होइन । एक तिहाइ क्यान्सरलाई जनचेतना, स्वास्थ्य शिक्षा र स्वस्थ जीवन शैलीबाट बचाउन सकिन्छ । अर्को एक तिहाइ क्यान्सर सही समयमा सही परीक्षण गरी पहिलो चरणमै क्यान्सर पत्ता लगाई उपचार गरेमा निको पार्न सकिन्छ । बाँकी रहेका एक तिहाइ क्यान्सरलाई भने रोगको प्रकृति र पछिल्लो वा अन्तिम चरणमा पुगिसकेको कारणले बचाउन गाह्रो हुन्छ ।

जटिल स्वास्थ्य समस्या बनिरहेको क्यान्सरसँग जुध्न क्यान्सरसम्बन्धी जनचेतनामूलक शिक्षा र पहिलो चरणमा क्यान्सर पहिचान गर्नु नै सरल, सस्तो र भरपर्दो उपाय हो । क्यान्सर रोगको पहिचान र उपचारको सुविधा बढ्दै गए पनि रोगबारे चेतनास्तर कमजोर छ । धेरेजसो व्यक्तिमा क्यान्सर रोगको पहिचान हुँदा उपचारमा निकै ढिलो भइसकेको हुन्छ । क्यान्सरको सम्भावनाबारे नियमित परीक्षण गर्नुपर्छ भन्ने चेतनाको अभाव, रोगको लक्षणबिना अस्पताल नजाने चलन र स्वास्थ्यसेवामा पहुँचको अभावजस्ता कारणले क्यान्सरका बिरामीहरु निकै खराब अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको पाइन्छ । खानपान तथा जीवनशैली सुधार गरेर सम्भावित क्यान्सरबारे सचेत रहन क्यान्सर दिवस सहयोगी बन्नुपर्छ ।