हेटौंडाः बागमती प्रदेशको १६ सदस्यीय कार्य व्यवस्था समिति गठन गरिएको छ । आज आइतबार बसेको सर्वदलीय बैठकले कार्यव्यवस्था समितिको संख्यामा मात्र भागबण्डा लगाएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
समितिमा प्रदेशका सभामुख, उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको उहाँले बताउनुभयो । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक/एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ । यस्तै, बैठकले भोली सोमबार विषयगत समितिको गठन गर्ने निर्णय गरेको छ ।
विषयगत समितिको सभापतिहरुको निर्वाचन माघ २५ गते, विषयगत समितिका सभापतिको निर्वाचन २५ गते र माघ २६ गते प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । यस्तै, प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण गर्ने विषयमा छलफल भएको छ । बागमती प्रदेशसभाको बैठक अघि सर्वदलीय बैठक बसेको हो । बागमती प्रदेशसभाको बैठक आज आइतबार दिउँसो २ बजे बस्दैछ ।