शिक्षक संगठनको अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको बसन्त राई ।

हेटौंडाः एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्षतामा बसन्त राई सर्वसम्मत चयन हुनुभएको छ । शनिबार संगठनको ७ औं जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा नयाँ समिति चयन भएको संगठनका जिल्ला सचिवालय सदस्य सन्देश तुम्सिङ मगरले जानकारी दिनुभयो ।

यस्तै, उपाध्यक्षतामा राजाराम कार्की, सचिवमा कमला आचार्य, कोषाध्यक्षमा एकराज गौतमसहित २१ सदस्यीय समिति चयन भएको हो । अधिवेशन एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्ष गोकुल लम्सालको सभाध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले शैक्षिक विकासको लागि सरकारले शैक्षिक एन निति, निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका प्रमुख सर्केश घलान, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रिराम दाहाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।