शनिबार बिहान उच्च अदालतको बारको चुनावमा मतदान गर्नुहुँदै निवर्तमान अध्यक्ष सुशील कुमार पोखरेल ।

हेटौंडाः उच्च अदालत पाटन हेटौंडा इजलासअन्तर्गतका वकिलहरुको संस्था उच्च अदालत बार एसोसिएसनको सचिव र सदस्य सर्वसम्मत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा सचिवमा श्रद्धा ढुंगाना र सदस्यमा ज्ञानेश्वर फुयाल, कृष्ण प्रसाद अर्याल, दिपेन्द्र बानियाँ, सुवासचन्द्र अधिकारी, मोहनप्रसाद ढकाल, सुजन तिमल्सिना र कृष्णप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित हुनुभएको छ । ७ जना सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । सदस्यका आकांक्षी श्रीराम दाहालले शनिबार बिहान उम्मेदवारी फिर्ता लिनुभएपछि बाँकी ७ जना सर्वसम्मत निर्वाचित भएका हुन् ।

अध्यक्ष, उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र पार्षद्मा सहमति हुन नसकेपछि शनिबार बिहान १० बजेदेखि मतदानको प्रक्रिया सुरु भएको छ । उच्च अदालत बारका निवर्तमान अध्यक्ष सुशील कुमार पोखरेलका अनुसार शनिबार दिउँसो ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । उच्च अदालत बार हेटौंडामा ५८ जना सदस्य छन् ।

उच्च अदालत बार एसोसिएसन हेटौंडाको अध्यक्षमा मनप्रसाद भट्टराई र अरुण कुमार खतिवडाको उम्मेदवारी परेको छ । भट्टराई नेकपा एमाले निकट वकिल समूहको उम्मेदवार हुनुहुन्छ भने खतिवडा माओवादी र काँग्रेस गठबन्धनको उम्मेदवार हुनुहुन्छ । भट्टराई प्यानलबाट उपाध्यक्षमा प्रमिला केसी, कोषाध्यक्षमा निरल मैनाली, सहसचिवमा ज्योति घिमिरे उम्मेदवार हुनुहुन्छ । यस्तै खतिवडा प्यानलबाट उपाध्यक्षमा हरिप्रसाद भट्ट, कोषाध्यक्षमा सम्पत काफ्ले, सहसचिवमा रमा चौलागाई उम्मेदवार हुनुहुन्छ । यस्तै केन्द्रीय पार्षदमा ३ जना आवश्यक हुनेमा ५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय पार्षदमा मोहनप्रसाद भट्टराई, शुभलक्ष्मी श्रेष्ठ, तेजप्रसाद रुपाखेती, रामकृष्ण देउला र एकनारायण शर्मा पौडेल उम्मेदवार हुनुहुन्छ ।