हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिको आयोजनामा शुक्रबार एकदिने वडास्तरीय शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम भएको छ । ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडास्तरीय कार्यक्रम भनिए पनि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित नगरका वडा अध्यक्षहरु, वडा सदस्यहरु, शिक्षासँग सरोकार राख्ने व्यक्ति, नगर भित्रका विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
४ नम्बर वडामा रहेका सामुदायिक तथा निजी गरी ८ वटै विद्यालयका विद्यार्थीले शैक्षिक प्रदर्शनी गर्नुका साथै साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए । हेटौंडा–४ मा आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, श्रमिक मावि सामुदायिक विद्यालय हुन् भने नवोदय शिशु सदन मावि, ब्रह्मदिक एकेडेमी, सत्यम जेभियर्स, रोज एकेडेमी र आमसाई स्कूल निजी विद्यालय हुन् ।
शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीले विज्ञान, गणित र सामाजिक विषयमा आधारित विविध प्रदर्शनी प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रमअन्तर्गत विद्यार्थीबीच नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरिएको थियो । विज्ञान प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, श्रमिक मावि द्वितीय तथा भुटनदेवी मावि तृतीय भएको छ । गणित प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, श्रमिक मावि द्वितीय तथा नवोदय शिशु सदन मावि तृतीय भएको छ । यस्तै सामाजिक प्रदर्शनीमा भुटनदेवी मावि प्रथम, ब्रह्मदिक एकेडेमी द्वितीय तथा आधुनिक राष्ट्रिय मावि तृतीय भएको छ । नृत्यतर्फ आधुनिक राष्ट्रिय मावि प्रथम, ब्रह्मदिक एकेडेमी द्वितीय तथा रोज एकेडेमी तृतीय भएको छ । गायनतर्फ नवोदय शिशु सदन मावि प्रथम, श्रमिक मावि द्वितीय तथा ब्रह्मदिक एकेडेमी तृतीय भएको छ ।
प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा सहभागीलाई प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको छ । शैक्षिक प्रदर्शनी तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो भने गायनतर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
शैक्षिक प्रदर्शनीको उद्घाटन बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभयो । यस्तै समापन समारोह बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । तीन वटै कार्यक्रम वडाध्यक्ष नविन सिग्देलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेले पनि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
वडा अध्यक्ष सिग्देलले शिक्षालाई रोजगार, आयआर्जन र प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । सोही बमोजिम वडाले प्रतिस्पर्धी अवधारणामा शिक्षामा सुधार गर्न शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको उहाँको भनाइ छ । श्रमिक माविकी विद्यार्थी लक्ष्मी खड्काले कार्यक्रमले सजिलैसँग पाठ्यक्रमका विषयवस्तु बुझ्न सहयोग पुग्ने बताउनुभयो । वडा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम उत्साहजनक तथा उपलब्धीमुलक भएको बताउनुभयो ।