हेटौंडाः आउँदो शुक्रबार र शनिबार हेटौंडामा आयोजना हुने बाल कला–साहित्य महोत्सवमा भारत र पाकिस्तानका लेखकको पनि सहभागिता रहने भएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडाको नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसन्सको आयोजनामा हुने तेस्रो संस्करणको बाल कला–साहित्य महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने बताइएको छ ।
भारत र पाकिस्तानमा बालसाहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन तथा बुझाईका लागि सहयोग पुग्ने उद्देश्यले मिश्र र हुसेनलाई सहभागी गराउन खोजिएको नवोदय शिशु सदनका निर्देशक दीपेश जोशीले जानकारी दिनुभएको छ । नेपाली लेखक अनुराधामार्फत मिश्र र हुसेन हेटौंडा आउन लाग्नुभएको हो । हेटौंडा बाल कला–साहित्य महोत्सवमा अनुराधा नियमित सहभागी हुनुहुन्छ । भारतीय लेखक मिश्र वृत्तचित्र निर्देशक समेत हुनुहुन्छ भने पाकिस्तानी हुसेन कलाकार तथा शिक्षाविद् समेत हुनुहुन्छ ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने मूल उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी हुने विद्यार्थीमा कला–साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने, स्थानीय कला–साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउन, नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गर्नुका साथै वौद्धिक जनशक्ति निर्माण गर्ने उद्देश्य रहेको निर्देशक जोशीले बताउनुभयो । दुईदिनको कार्यशालामा तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकसहित सरोकारवालाको सहभागिता रहने बताइएको छ ।
हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन मावि परिसरमा आयोजना हुने महोत्सवको पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले सहजीकरण गर्ने गरी कार्यशाला हुने महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिनुभयो । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले आफ्नो कला प्रस्तुतीकरण समेत गर्नेछन् ।