हेटौंडाः हेटौंडा–७, न्युरेनी निवासी रोशन दोङ “ए” डिभिजन फुटबल क्लब खुमलटारमा अनुबन्ध भएका छन् । आगामी फागुन १९ गतेबाट सुरु हुने शहीद स्मारक “ए” डिभिजन लिग फुटबल प्रतियोगिताका लागि हेटौंडाका दोङ खुमलटारमा आबद्ध भएका हुन् ।
दोङले विगतमा नेपाली राष्ट्रिय अण्डर १९ टोलीमा डिफेन्डरको रुपमा समेत खेलिसकेका छन् । उनले २०७६ सालमा इरानमा भएको एसियन फुटबल च्याम्पियनसीप यू–१९ र काठमाडौंमा भएको साफ यू–१८ च्याम्पियनसीप फुटबलमा नेपालबाट पनि खेलेका थिए । उनले ब्रिगेड ब्वाइज क्लबबाट पनि फुटबल खेलेका थिए । उनले विभिन्न गोल्डकप प्रतियोगितामा घरेलु मकवानपुर फुटबल टिम तथा अन्य टिमबाट समेत खेलेका छन् ।
यस्तै, शहीद स्मारक “ए” डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खुमलटार क्लबले फ्रेन्ड्स् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दशरथ रंगशालामा फागुन १९ गते ५ बजेर ३० मिनेटमा हुनेछ ।