हेटौंडाः १९ वर्षअघि सवारी दुर्घटनाको मुद्दामा प्रतिवादी एक सवारी चालक पक्राउ गरेका छन् । २०६० साल जेठ २४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, लेवटमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।
ना २ ख २९४६ नम्बरको ट्रक र बा १ ख ८२२० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालक देविप्रसाद आचार्यसहित ३ जनाको मृत्यु भएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालक साविक चुरियामाई गाविस–४, सानोसुकौली घर भई हाल मनहरी गाउँपालिका–९, ज्यामिरे बस्ने ४७ वर्षीय राजु लामालाई मनहरी–९, ज्यामिरेबाटै प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।