शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुहुँदै हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठ । फाइल तस्वीर ।

हेटौंडाः प्रजातन्त्र स्थापना एवम् पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदहरुको सम्झनामा आज सोमबार देशभर शहीद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ ।

वीर शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानको स्मरणमा शहीद दिवस मनाइएको हो । विसं १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथचन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । शहीद दिवसको अवसरमा सरकारले विगतका वर्षहरुमा सार्वजनिक बिदा दिने गरेको थियो ।