हेटौंडाः मधेश प्रदेशको सप्तरीमा जारी चौथौं मिथिला कप टि–२० क्रिकेटमा मकवानपुर क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा मकवानपुरले बिरपुर क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको मकवानपुर क्रिकेट टिमका क्याप्टेन सुमन सुनारले जानकारी दिनुभयो ।
टस जितेर पहिलो ब्याटिङ गरेको बिरपुर क्रिकेटले १८ ओभरमा ६ विकेट घुमाउँदै १ सय ३४ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रेको मकवानपुरले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । मकवानपुरको जितको लागि गौरव खड्काले अविजित ६० रन बनाएका थिए भने शुभ कंसाकारले ४५ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ मकवानपुरका पियुस शर्माले ३ विकेट र सुवर्ण भट्ठले १ विकेट लिएको हो ।
प्रतियोगितामा विजय टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल माघ २४ र २५ गते हुनेछ भने फाइनल खेल माघ २६ गते हुनेछ । लिगकम नगआउटको आधारमा हुने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।