कुनै समय हेटौंडाको पहिचान बनेको हेटौंडा कपडा उद्योग लामो समयदेखि बन्द छ । हजारौंलाई रोजगारी दिएर सञ्चालन भइरहेको कपडा उद्योग एकाएक बन्द भएपछि हेटौंडाको आर्थिक गतिविधिमै असर पुगेको थियो । तत्कालीन समयमा कपडा उद्योगले तलब वितरण गरेको दिन हेटौंडा बजारमा चहलपहलका साथै व्यापारसमेत बढ्ने गरेको भनाई पाइन्छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन भइरहेको कपडा उद्योग कुनै ठोस कारणबिना बन्द हुन पुगेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि सरकारी संस्थानहरुमा देखिएको राजनीतिक हस्तक्षेपबाट हेटौंडा कपडा उद्योग पनि मुक्त रहन सकेन । स्थानीय र राष्ट्रिय राजनीति हाँकिरहेका थुप्रै नेता जन्माएको हेटौंडा कपडा उद्योग राजनीतिकै कारण बन्द हुन पुगेको हो । हेटौंडा कपडा उद्योगप्रति धेरै राजनीतिक दल, तिनका नेतृत्व र विभिन्न सरकार र सम्बद्ध पदाधिकारीले चासो र चिन्ता व्यक्त गर्ने गरेको भए पनि यो केबल भाषणमा मात्र सिमित बनिरहेको छ ।

चीन सरकारको सहयोगमा २०३२ सालबाट निर्माण सुरु भएको हेटौंडा कपडा उद्योगले २०३५ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । करिब २ दशकसम्म निर्बाध सञ्चालन भएको उद्योग २०५६ फागुनदेखि पूर्णरुपमा बन्द भएको हो । २३ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा बारम्बार हुने गरेको छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा हेटौंडा कपडा उद्योग चलाउने उद्देश्यले मेशिनहरुको मर्मत गरेर कपडा उत्पादन सुरु गरिएको भए पनि कपासको अभाव देखाउँदै उद्योग सञ्चालन गरिएन । २०७० जेठमा मन्त्रिपरिषद्ले उद्योग खारेज गरी सम्पत्ति तथा मेशिनरी सामान औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जिम्मा दिने निर्णय गरेको दिएको थियो । तर, २०७३ सालमा तत्कालीन सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका समिति गठन गरेर विस्तृत अध्ययन गरायो । उक्त समितिले बुझाएको प्रतिवेदनलाई पन्छाउँदै २०७३ पुसमा मन्त्रीस्तरीय निर्णयबाट सुरक्षा निकायसमेतको लगानी र व्यवस्थापनमा नेपाली सेनाको नेतृत्वमा उद्योग पुनः सञ्चालनको तयारी गरेको थियो ।

शुक्रबारमात्र बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडा कपडा उद्योगको उत्पादन सबैले लगाएमा उद्योगले पुनर्जीवन पाउन सक्ने बताएका छन् । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले उद्योगबाट उत्पादन भएको कपडा सरकारी कर्मचारी, स्कूलका विद्यार्थी, शिक्षक, सांसद र मन्त्रीहरुले लगाएमा उद्योेगले पुनर्जीवन पाउने बताएका हुन् । आयातित कपडासँग स्वदेशी कपडाले प्रतिस्पर्धा गर्न कठिन भएको अवस्थामा प्रदेशप्रमुखको यो भनाई वर्तमान अवस्थामा सान्दर्भिक होला । तर, उत्पादन भएका कपडा नबिकेर हेटौंडा कपडा उद्योग बन्द भएको होइन । विगतमा गुणस्तरीय कपडा उत्पादन गरेर ख्याति बनाइसकेको हेटौंडा कपडा उद्योगले सरकारी व्यवस्थापनमै पुनः गुणस्तरीय उत्पादन गरेमा बजारको समस्या नहुन सक्छ । भाषणमा मात्र उद्योग पुनः सञ्चालनको कुरा गरेर कुनै अर्थ रहँदैन ।

स्वदेशमै ठूलो परिमाणमा गुणस्तरीय सुति तथा अन्य कपडा उत्पादन गरिरहेको हेटौंडा कपडा उद्योगले तत्कालीन समयमा कपडाको आन्तरिक माग पूरा गर्न धेरै सहयोग गरेको थियो । मुलुकलाई कपडामा आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा कपास विकास समिति, हेटौंडामा कपडा उद्योग र बुटवलमा धागो कारखाना सञ्चालनमा ल्याइएको थियो । तत्कालीन अवस्थामा चरम राजनीतिकरण, जथाभावी कर्मचारी भर्ती, अक्षम व्यवस्थापन तथा प्रविधि स्तरोन्नति गर्न नसकेका कारण चलिरहेको उद्योग धराशायी बनाएर बन्द गरिएको थियो । बन्द उद्योग सञ्चालनका लागि विभिन्न समयमा विभिन्न दल नेतृत्वको सरकारले गरेका प्रयास पनि प्रचारात्मक मात्र हुन पुग्यो । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएर सरकारले पोशाक सुविधा दिइरहेका निकायलाई कपडा नै दिने नीति लागू गर्न सकेमा यसलाई सजिलै सञ्चालन गर्न सकिन्छ ।