नगर प्रमुख लामाले आयोजना गर्नुभएको वडा सदस्य महिलाको भेलामा सहभागीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका वडा सदस्य महिलाहरुको सञ्जाल गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले बुधबार वडा सदस्य महिलासँग राख्नुभएको परिचयात्मक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिले सञ्जाल गठन गरेको हो ।

वडा सदस्यमा निर्वाचित महिलाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासका लागि सहयोगी कार्य गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो । सञ्जालको संयोजकमा ५ नम्बर वडा सदस्य रञ्जिता सिलवाल चयन हुनुभएको छ । सहसंयोजकमा १६ नम्बर वडा सदस्य संगीता बिक चयन हुनुभएको छ भने सदस्यमा १ नम्बर वडा सदस्य मुना दाहाल, १३ नम्बर वडा सदस्य सानुमाया नेपाली र १९ नम्बर वडा सदस्य रमा गोले चयन हुनुभएको छ ।

सञ्जालले गोष्ठी, अभिमुखीकरण तथा अन्तरक्रियाको आयोजना गरेर महिला जनप्रतिनिधिलाई सशक्तीकरणको प्रयास गर्ने संयोजक सिलवालले जानकारी दिनुभयो । उपमहानगरका वडामा सदस्य निर्वाचित महिलाहरुले सदस्यको रुपमा गर्नुपर्ने काम, कर्तव्य, कानुनका विषयमा जानकारी नभएकै कारण आफूलाई सक्रिय बनाउन नसकेको उहाँले बताउनुभयो । सञ्जालमार्फत महिला जनप्रतिनिधिलाई सक्रिय र सशक्त बनाई आगामी निर्वाचनमा वडा सदस्यमा मात्रै नभई वडा अध्यक्ष, नगरको प्रमुख, उपप्रमुखको प्रमुख दावेदार बनाउने सिलवालको भनाइ छ ।

महिला जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन निश्चित भएकोले चाहेर पनि महिला जनप्रतिनिधिको भेला गराउन नसकेको उल्लेख गर्नुभयो । आसन्न निर्वाचनका कारण महिला भेला गर्दा अनेकौं आशंकामा सहजै भेला हुन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुहुँदै नगर प्रमुख लामाले भन्नुभयो, “पार्टीहरु बीचको प्रतिस्पर्धाकै कारण महिलाहरु एक ठाउँमा बसेर आफ्ना समस्याका बारेमा चर्चा गर्ने अवस्था थिएन । महिला नगर प्रमुखको रुपमा म मेरो प्रमुख दायित्वको रुपमा महिला जनप्रतिनिधिको सशक्तीकरणको कार्य गर्नेछु ।” महिला जनप्रतिनिधिकै आवश्यकता र मागका आधारमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने हेटौंडा उपमहानगरपालिकाका भीम प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।