प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु हुँदै ।

हेटौंडाः बागमती प्रदेशका नवनियुक्त मन्त्रिहरुले आज सपथ ग्रहण गरेका छन् । प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रिहरुले आज सपथ लिएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेपश्चात् प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराउनुभएको हो ।

नेकपा एमालेबाट एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, केशब प्रसाद पोख्रेलले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री, कुमारी मोक्तान सामाजिक विकास मन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला मन्त्री तथा कानून मन्त्रीमा नियुक्त हुनु भएको छ ।

यसैगरी राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री, डम्मबर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको हो । सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालगायतको सहभागिता रहेको थियो ।