राष्ट्रिय आविष्कार केन्द्रमा महावीर पुनसँग हेटौंडा उपमहानगरको टोली ।

उज्यालो सहर, आविष्कार केन्द्र स्थापना, खानेपानी, पूर्वाधार विकासदेखि फोहर व्यवस्थापन
हेटौंडाः
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको नेतृत्वमा एक समूह सोमबार संघीय राजधानी काठमाडौं पुगेको छ । नगर प्रमुख लामा नेतृत्वको टोलीले आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ । आज मंगलबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने तय भएको नगर प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेटेर प्रदेशको राजधानी सहर हेटौंडाको समग्र विकासमा संघीय सरकारको साथ, सहयोग र सहकार्यका लागि प्रस्ताव पेश गरिने उहाँको भनाइ छ ।

नगर प्रमुख लामा नेतृत्वको टोलीमा सहभागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रदेश राजधानी हेटौंडामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका योजनामा संघीय सरकारको साथ, सहयोग र सहकार्यको प्रयास गरिने जानकारी दिनुभयो । ‘हामी गौरिटारको अन्तर्राष्ट्रियस्तरको रंगशालालाई पूर्णता दिई अन्तर्राष्ट्रिय खेल महोत्सव आयोजना गर्ने गरी संघीय सरकारले पर्याप्त बजेट छुट्याएर योजना पूरा गर्न ध्यानाकर्षण गराउने छौं’, हेटौंडा उपमहानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक समेत रहनुभएका वडाअध्यक्ष खड्काले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई भेटेर आगामी दिनमा निरन्तर फलोअप पनि गर्नेछौं ।’

नेपाल विद्युत प्राधकिरणका कार्यकारी प्रमुख कुलमान घिसिसँग हेटौंडा उपमहानगरको टोली ।

नगर प्रमुख नेतृत्वको टोलीमा हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, सदस्य डा. कृष्ण धिताल, मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण कुमार गुरुङको पनि सहभागिता रहेको छ ।

सोमबार नै नगर प्रमुख नेतृत्वको टोलीले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरी आविष्कार केन्द्रका परिकल्पनाकार महावीर पुनलाई भेटेको छ । महावीर पुनसँगको भेटमा हेटौंडामा पनि उपमहानगरपालिकाको लगानीमा आविष्कार केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले जानकारी दिनुभयो । महावीर पुनले पालिकाको वार्षिक बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याएर आविष्कार केन्द्र स्थापना गर्न सुझाव दिनुभएको वडाअध्यक्ष मोक्तानले बताउनुभयो ।

यस्तै सोमबार नै नगर प्रमुख लामा नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेटेर उज्यालो सहर निर्माणका लागि हेटौंडा बजारको १० वटा प्रमुख चोकमा हाइम्याक्स लाइट राख्ने सहमति गरेको छ । एउटा हाइम्याक्स लाइट जडानका लागि १५ लाख रुपैयाँ लागत अनुमान गरिएको उल्लेख गर्नुहुँदै वडा अध्यक्ष मोक्तानले भन्नुभयो, ‘हाइम्याक्स लाइट जठानका लागि हेटौंडा उपमहानगरपालिकाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लागतमा योजना कार्यान्वयन गर्ने सम्झौता गरिएको छ ।’

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालसँग भेट्दै हेटौंडा उपमहानगरको टोली ।

उपमहानगरको टोलीले हेटौंडा–४, ९, ११, १४, १५, १६ नम्बर वडामा करिब ४९ करोड रुपैयाँ लागत अनुमानको खानेपानी योजना कार्यान्वयनका लागि ७० प्रतिशत खानेपानी विभागले व्यहोर्ने तथा ३० प्रतिशत लागत हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले व्यहोर्ने गरी योजना कार्यान्वयन गर्ने प्रस्ताव पेश गर्नेछ । सोमबार नै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालसँग भेटेर फोहर व्यवस्थापनका लागि इन्सुनेटर मेसिन जडानको विषमया बुझ्ने प्रयास भएको वडा अध्यक्ष मोक्तानले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुखको नेतृत्वमा वडा अध्यक्षसहित सरोकारवालाको सहभागितामा संघीय राजधानी पुगेर उपमहानगरको योजनाका विषयमा सम्बन्धित निकाय र प्रधानमन्त्री समेतलाई भेट्ने प्रयास सम्भवतः पहिलो पटक भएको हो ।