२०७३ साल जेठ महिनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडामा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका २० वर्षभन्दा कम उमेरमा विवाह गरेर आमा बनेका किशोरीहरु । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा पुस महिनामा मात्रै ३१ जना किशोरी आमा बनेका छन् । पुस महिनामा ३ सय ४९ जना महिलाहरु सुत्केरी भएकोमा ३१ जना २० वर्षभन्दा कम उमेरको रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

पुस महिनामा आमा बनेका किशोरीमध्ये जटिल अवस्थाको २ जनाको शल्यक्रिया गरिएको, २ जनाको सामान्य शल्यक्रिया गरिएको र बाँकी १७ जनाको सामान्य सुत्केरी भएको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो । कानुनतः २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित सरकारी अस्पतालमै २० वर्षभन्दा कम उमेरमै किशोरी आमा बनिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी समेत भइरहेको छ । बालमैत्री पालिका घोषणाका लागि हेटौंडा उपमहानगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको सन्दर्भमा किशोरी आमाको संख्या नघट्नु प्रमुख समस्याको रुपमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हेटौंडा अस्पतालमा मात्रै १ सय ३७ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा औसत मासिक २३ जना किशोरी आमा बन्ने गरेको तथ्यांकले देखाएको छ । गत साउनमा २० जना, भदौमा ३० जना र अजोसमा १८ जना किशोरी आमा बनेका थिए । यस्तै, कात्तिकमा २० जना, मंसिरमा १८ जना र पुसमा ३१ जना किशोरी आमा बनेका हुन् ।

हेटौंडा अस्पतालबाहेक अन्य निजी अस्पताल, प्रसुती सेवा उपलब्ध हुने जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थाहरुको तथ्यांकमा २० वर्ष भन्दा कम उमेरका कति किशोरी आमा बने भन्ने तथ्यांक संकलन गर्ने प्रयास समेत कसैले गरेको देखिँदैन । जिल्लाभर किशोरी आमाको तथ्यांक संकलन गरी यसलाई समस्याको रुपमा पहिचान गरेर समस्या समाधानमा पनि ध्यान नपुग्नु चिन्ताको विषय हो । समृद्ध समाज दैनिकले हरेक महिना हेटौंडा अस्पतालमा किशोरी आमा हुनेको संख्या सार्वजनिक गर्ने गरे पनि हेटौंडा अस्पतालको आसपासमै रहेको स्थानीय र प्रदेश सरकारको ध्यान जान सकेको छैन भने संघीय सरकारका नियकाको पनि चासो देखिएको छैन ।

गत कात्तिक महिनामा ३ सय ११ जना गर्भवतीले अस्पतालबाट प्रसुती सेवा लिएका थिए । यस्तै, मंसिर महिनामा महिनामा ३ सय १८ गर्भवती सुत्केरी भएका थिए । जसमा २ सय २० जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८८ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १० जना गर्भवतीको जटिल अवस्थाका सुत्केरी गराइएको थियो । हेटौंडा अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सकले महिला तथा प्रसुती स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।