शिक्षक खेमराज लामिछानेलाई सम्मान गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सवको अवसरमा आइतबार शिक्षक, कर्मचारीलाई सम्मान गरिएको छ भने विद्यार्थी पुरस्कृत भएका छन् । एक समारोहको आयोजना गरी सम्मान एवम् पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा कार्यालय सहायक लेखापाल लक्ष्मी न्यौपानेलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गरिएको छ । प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत शम्भु घर्तीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । २०७८ सालमा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकहरु र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । अंग्रेजी विषयका गणेशप्रसाद हुमागाई, कार्यालय संचालन तथा लेखा विषयका रामशरण पौडेल, अतिरिक्त गणित विषयका खेमराज लामिछानेलाई पुरस्कृत गरिएको छ । म्युजिकल चेयरमा प्रथम हुन सफल सुस्मा कँडेल, प्रथम तह तृतीय श्रेणीमा कार्यरत सिर्जना कुमारी शर्मालाई सबैभन्दा बढी उपस्थित भएको भन्दै पुरस्कृत गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित समारोह समापनपछि सामूहिक तस्वीर खिचाउँदै ।

२०७८ सालमा कक्षा–८ को परीक्षामा ३ दशमलव ६ जीपीए ल्याएर उत्कृष्ट हुन सफल छात्रातर्फ रस्मिता आलेमगर र छात्रतर्फ रविकिश्वर साहलाई पुरस्कृत गरिएको छ । एसईईमा उत्कृष्ट अङ्क ल्याउने छात्रातर्फ कोमल जैसवाल र छात्रतर्फ शिवप्रसाद सत्याल, कक्षा–१२ को वार्षिक परीक्षामा ३ दशमलव ७५ जेपिए ल्याएर उत्कृष्ट हुन सफल छात्रातर्फ सोनीकुमारी पासवान र जीपीए ३ दशमलव ४७ ल्याएर उत्कृष्ट हुन सफल रामकृष्ण यादवलाई स्टेशनरी सामग्रीसहित पुरस्कृत गरिएको छ ।

यसैगरी सिद्धार्थ बालबाटिका कृतिको विमोचन समेत गरिएको छ । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नगर प्रमुख लामाले भौतिक संरचना विकास गरिरहेको अवस्थामा विद्यार्थीलाई शिक्षा दिन चुनौति रहेको बताउनुभयो । कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेको पनि आतिथ्य रहेको थियो ।