हेटौंडाः तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज आइतबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका मकवानपुरसहित विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औं वर्ष सुरु हुन्छ । यस वर्ष बाघ वर्गलाई बिदाइ गर्दै बिरालो वर्गलाई स्वागत गर्दै ल्होछार मनाउन लागेको हो । सोनाम ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । तामाङ भाषामा ‘ल्हो’ भनेको वर्ष÷वर्ग÷साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।
मन्जुश्रीले विकास गरेको चिनियाँ खगोल शास्त्रमा आधारित चन्द्रपात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँछन् । नेपालमा मात्र नभएर तामाङ समुदायको बसोबास भएका विश्वका थुप्रै देशहरूमा सोनाम ल्होछार पर्व मनाउँदै आएका छन् ।