जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल स्यानिटाइज स्टेसनमा स्यानिटाज गरेर उद्घाटन गर्नुहुँदै ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा अस्पतालमा स्यानिटाइज स्टेसन स्थापना गरेको छ । अस्पतालमा आउने व्यक्तिलाई स्यानिटाइज गरेर प्रवेश गराउने उद्देश्यले स्टेसन स्थापना गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि संघले ३८ हजार रुपैयाँ लागतमा स्टेसन तयार पारेको संघका सदस्य विष्णु खनालले जानकारी दिनुभयो । खनालकै संयोजकत्वमा स्यानिटाइज स्टेसन तयार पारिएको हो । हेटौंडाकै फाइन वर्कसपमा स्यानिटाइज स्टेसन तयार पारिएको खनालले जानकारी दिनुभयो ।

आज बिहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्यानिटाइज स्टेसनको उद्घाटन गर्नुभएको हो । हेटौंडा अस्पतालले अस्पताल प्रवेश गर्ने स्थानमै राखेर स्यानिटाइज गर्न सुरु गरेको छ । सामाजिक उत्तरदायित्वलाई बुझेर संघले यस किसिमको सहयोगको काम गरेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । २ नम्बर प्रदेशसँगको सीमाक्षेत्रबाट प्रवेश गर्ने सवारी साधनलाई स्यानिटाइज गर्ने गरी स्यानिटाइज स्टेसन निर्माणको कार्य पनि भइरहेको खनालले बताउनुभयो । उहाँका अनुसार ३ दिनभित्र गाडी स्यानिटाइज गर्ने स्टेसन तयार हुने उहाँले बताउनुभयो ।

रातोमाटेमै यसअघि हेटौंडा उपमहानगरपालिकाले मानिसलाई स्यानिटाइज गर्ने स्टेसन स्थापना गरिसकेको छ । चितवन जिल्लामा निर्माण भएको स्यानिटाइज स्टेसन हेटौंडा उपमहानगरपालिकाले एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको जनाएको छ ।