हेटौंडाः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित कारागारलाई सरसफाईका सामग्री सहयोग गरेको छ । हिजो सोमबार रेडक्रस मकवानपुरले पाँच सय पिस साबुन, धारा जडान गरिएको पाँच थान बाल्टिन र १० बोतल स्यानिटाइजर सहयोग गरेको रेडक्रस मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोलाले जानकारी दिनुभयो । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेले भीमफेदी कारागार प्रमुख प्रकाश खनाललाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कारागार कार्यालयले सरसफाईमा प्रयोग हुने सामग्री माग गरेअनुसार हस्तान्तरण गरिएको कोषाध्यक्ष बास्तोलाले बताउनुभयो । सहयोग हस्तान्तरणका लागि रेडक्रस मकवानपुरका उपसभापति लालबहादुर थापा, उपमन्त्री सानु थापा, रेडक्रस मकवानपुर कार्यालयका प्रमुख लक्ष्मण भट्टराईको पनि उपस्थिति रहेको थियो ।