गुगल तस्वीर ।

हेटौंडाः लकडाउनका बेला मासु व्यवसायीले फेरि ब्रोइलर कुखुराको मासुको मूल्य बढाएका छन् । स्थानीय प्रशासनसँग दुई सय ५० रुपैयाँमा ब्रोइलर कुखुराको मासु विक्री गर्न सहमत भएका व्यवसायीले अहिले ब्रोइलर कुखुराको मासु प्रतिकेजी तीन सय रुपैयाँसम्म विक्री गरिरहेका छन् । मासुको मूल्य पसलअनुसार नै फरक फरक छ । आज बिहान हेटौंडा–४, फरेष्ट्री क्याम्पस गेटस्थित समीर मिट सपले ब्रोइलर कुखुराको मासु प्रतिकेजी तीन सय रुपैयाँमा विक्री गरिरहेको छ । समीर मिट सपले हिजो सोमबारदेखि नै ब्रोइलर कुखुराको मासु प्रतिकेजी तीन सय रुपैयाँ विक्री गरिरहेको जनाएको छ । मासु व्यवसायी संघले नै मूल्य बढाएको समीर मिट सपका मजदुरले जानकारी दिए ।

यता हेटौंडा–४, पारिजातपथस्थित अन्सारी मिट हाउसले ब्रोइलर कुखुराको मासु प्रतिकेजी दुई सय ८० रुपैयाँमा विक्री गरिरहेको छ । कुखुराको अभाव भएको भन्दै मूल्य बढाउनु परेको व्यवसायीले बताएका छन् । हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले जिउँदो ब्रोइलर कुखुराको अभाव हुँदै गएको उल्लेख गर्नुहुँदै अभाव भए पनि मूल्य बढाउने कुरा नभएको स्पष्ट पार्नुभयो । उहाँले केही व्यवसायीले आफू खुसी मूल्य बढाएको भए संघले निगरानी गर्ने बताउनुभयो ।

मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले भने जिउँदो कुखुराको अभाव नभएको भन्दै किसानलाई नै केही लाभ हुने गरी मूल्य समायोजन गर्न जरुरी रहेको औँल्याउनुभयो । किसानले लागत मूल्य नै नपाएका कारण नयाँ चल्ला नहालेका कारण भोलिका दिनमा भने कुखुराको अभाव हुन सक्ने भन्दै सरोकारवालासँग समन्वय गरेर किसानलाई चल्ला हाल्न आश्वस्त पार्ने प्रयास गर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने यसअघि नै बढी मूल्यमा मासु बेचेको पाइए कारवाही गरिने बताउनुभएको छ ।