हेटौंडाः बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले उम्मेदवारी दर्ता गर्नुभएको छ । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । सोही सहमति अनुसार नै सत्तारुढ गठबन्धनको तर्फबाट पाठकले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उहाँले १ बजेर ४३ मिनेटको समयमा उम्मेदवारी दर्ता गर्नुभएको हो । राप्रपाबाट उम्मेदवारी दिनु भएको पाठकको प्रस्तावकमा नेकपा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादीबाट युवराज दुलाल रहनु भएको छ । पाठक बागमती प्रदेश सभामा समानुपातिकबाट सदस्य बन्नु भएको हो । पाठकले २०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।
