कृत्रिम गर्भाधानसम्बन्धी चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा एक महिनादेखि रोकिएको पशुको कृत्रिम गर्भाधान आजबाट सुचारु भएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका १० जना पशु स्वास्थ्य प्राविधिकहरूलाई आज कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन (वीर्य) तथा सिमेन राख्ने नाइट्रोजन उपलब्ध गराएको छ । अहिले उपलब्ध सिमेनले एक दुई दिनका लागि पुग्ने हेटौंडा उपमहानगरपालिकाका पशु सेवा प्राविधिक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

लकडाउनका कारण सिमेन (वीर्य) उपलब्ध हुन नसक्दा एक महिनादेखि हेटौंडाका किसानहरूले पशुको कृत्रिम गर्भाधान गराउनबाट बञ्चित थिए । केही पशु स्वास्थ्य प्राविधिकहरूसँग सिमेन भए पनि नाइट्रोजनको अभावका कारण प्रयोग गर्न पाएका थिएनन् । बाराको परवानीपुरबाट हिजो ३ सय लिटर नाइट्रोजन ल्याइएकोले आज प्राविधिकहरूलाई उपलब्ध गराएर आजैबाट कृत्रिम गर्भाधानका लागि सहज बनाइएको उहाँले बताउनुभयो । नाइट्रोजनका अभावले पशु स्वास्थ्य प्राविधिकहरूले सिमेन पशु स्वास्थ कार्यालयमा थन्क्याएर राखेका थिए ।

हेटौंडा उपमहामनगरपालिकामा मासिक ८ सय पशुको कृत्रिम गर्भाधानको माग रही आएको भट्टराईले जानकारी दिनुभयो । पशु प्रजनन् केन्द्र पोखराबाट सिमेन ल्याउनुपर्ने भएकोले लकडाउनका कारण ल्याउन नसकिएकाले समस्या भएको उहाँले बताउनुभयो । भोलि पोखराबाट १ हजार सिमेन ल्याउने तयारी भएको भट्टराईले बताउनुभयो । एक हजार सिमेनले १ महिनाका लागि पुग्ने उहाँले बताउनुभयो । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका किसानहहरू गाई भैँसीको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् । किसानहरूले बहर तथा राँगा पाल्न छाडेकाले पनि पशु पाल्ने किसानहरूका लागि कृत्रिम गर्भाधान अनिवार्य जस्तै भएको छ ।