हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थितका किसानहरूलाई आज घाँसको बीउ निःशुल्क वितरण गरिएको छ । पदमपोखरी घाँस तथा घाँस बीउ विकास सहकारी संस्थाले पदमपोखरीका किसानहरूलाई घाँसको बीउ वितरण गरेको हो । सहकारीले आफ्ना शेयर सदस्य तथा अन्य किसान गरी १ सय ५० जनालाई घाँसको बीउ वितरण गरेको सहकारीका अध्यक्ष केशव दुलालले जानकारी दिनुभयो ।
पशुपालन सम्बन्धी काम गर्ने संस्था नेपाल लाइभ स्टक इनोभेसन सेन्टर मकवानपुरले उपलब्ध गराएको १ सय ५० किलो घाँसको बीउ प्रति किसान १ किलोको दरले वितरण गरेको अध्यक्ष दुलालले बताउनुभयो । १ किलो घाँसको बीउले १ कठ्ठा जग्गामा घाँस लगाउन पुग्ने र त्यसबाट २ वटा पशु सहजै पाल्न सकिने उहाँले बताउनुभयो । सहकारी संस्थामा अहिले ३ सय शेयर सदस्य आवद्ध रहेका छन् । सहकारी संस्थाका अध्यक्ष केशव दुलालको अध्यक्षतामा घाँसको बीउ बितरण कार्यक्रम भएको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिमको कारण भौतिक दुरी कायम गरी बीउ वितरण गरिएको थियो । पदमपोखरी घाँस तथा घाँस बीउ विकास सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूबाट घाँसको बीउ उत्पादन गरी बिक्री वितरण पनि गर्दै आइरहेको छ । सहकारीले वार्षिक रुपमा ५० क्विन्टरभन्दा बढी घाँसको बीउ उत्पादन गरी बिक्री गरिरहेको छ । सहकारीले उत्पादन गरेको घाँसको बीउ देशभर बिक्री भइरहेको छ । घाँसको बीउको माग अझै बढेकोले उत्पादन बढाउनेतर्फ सहकारीले योजना बनाइरहेको अध्यक्ष दुलाले बताउनुभयो ।
सहकारीले बचत तथा ऋण लगानीमात्र नगरी किसानहरूलाई उत्पादनमूलक काममा लगाइरहेको संस्थाका अध्यक्ष केशव दुलालले बताउनुभयो । पशुपालन गर्ने किसानहरूका लागि यस प्रकारको घाँस पोषिलो हुनुका साथै दुध उत्पादन पनि बढाउने पशु स्वास्थ्य प्राविधिकसमेत रहनुभएका अध्यक्ष दुलालले बताउनुभयो ।