हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौं बागमती गोल्डकप फुटबलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा त्रिभुवन आर्मीलाई हिमालयन शेर्पाले ४–२ गोलअन्तरले पराजित गरेको हो ।
म्यान अफ द म्याच हिमालयन शेर्पा क्लबका गोलरक्षक दीप कार्कीले टाइब्रेकरमा दुई बल बचाउ गरे । हिमालयन शेर्पाका लागि विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र विदेशी खेलाडी इरेक वेलीले गोल गर्दा आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले गोल गरे । आर्मीका दिनेश हेम्जन र कमल बहादुर थापाको प्रहार हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले बचाउ गरे ।
बुधबार नेपाल एपीएफ र मच्छिन्द्र क्लबबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
