सम्मानित कृषकहरु ।

हेटौंडाः राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट मकवानपुरका ३ जना कृषक सम्मानित भएका छन् । कृषि क्षेत्रमा उत्कृष्ट काम गरी उल्लेखनीय प्रगति गरेको भन्दै ३ जनालाई सम्मानित गरिएको हो । सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना भएको जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ३ जना कृषक सम्मानित भएका हुन् ।
यस्तै, कार्यक्रममा हेटौंडा–१३ का एमएनएस एग्रो प्रालिका संचालक फेन्चु लामा सम्मानित हुनुभएको छ । लामो समयदेखि कृषि श्रेत्रमा लागेका लामा एक सफल कृषी उद्यमी पनि हुनुहुन्छ । लामाले हेटौंडा–१३ मा करिब ३ बिगाहामा ड्रागन फ्रुड, मेवा खेती, खर्बुजा खेती गर्दै आउनुभएको छ । यस्तै, मकवानपुरगढीका बाख्रा पालक किसान पीएसपी एग्रो प्रालिका संचालक सञ्जय नेपाल र थाहा नगरपालिकाका किसान युनिक कृषि फर्मका संचालक कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो । मोक्तानले रेन्बो ट्राउट माछा पालन गर्दै आउनुभएको छ ।

कृषकहरु फेन्चु लामा, सञ्जय नेपाल र कृष्ण बहादुर मोक्तानलाई नगद २४ हजार रुपैयाँसहित कदर पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा.ब्रज किशोर ठाकुर, पशु विकास शाखा अधिकृत डा.आभास कोइरालाले उत्कृष्ट कृषकलाई पुरस्कार तथा कदरपत्र हस्तान्तरण गर्नुभएको थियो ।