Home मुख्य समाचार इन्द्रसरोबरमा स्वास्थ्य शिविर र न्यानो कपडा वितरण

इन्द्रसरोबरमा स्वास्थ्य शिविर र न्यानो कपडा वितरण

वडा नम्बर ५ मा न्यानो कपडा वितरण गर्दै । फाइल तस्विर ।

हेटौंडाः इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ मा न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर भएको छ । आज सोमबार भएको कार्यक्रममा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ को ८१ जनालाई न्यानो कपडा वितरण गरिएको छ । यस्तै, ५६ जनाको स्वास्थ्य परिक्षण गरिएको ईन्द्रसरोबर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो ।

वडा नम्बर ४ मा १ सय ५ जनालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेकोमा ८१ जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले “सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई कपडासँगै खाजा खुवाईएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका ५६ जना मध्य ४८ जनालाई निःशुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो । प्रत्येक वडामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर संचालन गरिएको उहाँको भनाई छ । कार्यक्रम इन्द्रसरोबर गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक चन्द्र कुमार बलको अध्यक्षतामा भएको हो । सोही कार्यक्रम मंगलबार वडा नम्बर ३, बुधबार वडा नम्बर २ र बिहीबार वडा नम्बर १ मा संचालन गर्ने योजना रहेको गाउँपलिकाले जनाएको छ । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

Exit mobile version