Home मुख्य समाचार इन्द्रसरोबरले कृषकलाई मल कार्ड वितरण गर्ने

इन्द्रसरोबरले कृषकलाई मल कार्ड वितरण गर्ने

गाउँपालिकाले सार्वजनिक गरेको सूचना ।

हेटौंडाः इन्द्रसरोबर गाउँपालिकाले कृषकहरुलाई मल कार्ड वितरण गर्ने भएको छ । स्थानीय तह मल वितरण व्यवस्थापन समितिको आइतबार बसेको बैठकको निर्णय अनुसार गाउँपालिका भित्रका कृषकहरुलाई मल कार्ड वितरण गर्ने निर्णय भएको हो ।

अनुदानको मल कृषि प्रायोजनको लागि प्रभावकारी रुपमा वितरण गर्न मल कार्ड वितरण गर्न लागिएको कृषि विकास संयोजक कुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा कार्यालयबाट कृषक घरधुरीहरुलाई कृषक मल कार्ड वितरण गर्न लागिएको हो । गाउँपालिकाले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचा अनुसार १५ दिन भित्र निवेदन दर्ता गर्न सूचना सार्वजनिक गरेको छ ।

निवेदनमा कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, पान नम्बर दर्ता प्रमाणपत्र, गत आवको करचुक्ता प्रमाणपत्र, धनिपुर्जा वा भाडाको जग्गा भएमा सम्झौतानामा अनिवार्य संलग्न गर्नु पर्नेछ । यस्तै, निवेदकसहित कृषक परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र, यस वर्षको एकीकृत सम्पत्ति कर तिरेको भौचर रसिद, घरमुली कृषकको अटो साइजको फोटोसहित निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, कृषि फर्म नभएका कृषकहरुलाई समेत एक घर एक मल कार्ड प्रमाणपत्र उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ । कृषक मल कार्ड प्रमाणपत्र हुने घरधुरीहरुलाई अनुदानको मल उपलब्ध गराइने निर्णय भएको छ । कृषक मल कार्ड प्राप्त गर्न खेतीपाति गरेको र यस गाउँपालिका भित्र स्थायी बसोबास भएको नेपाली हुनु पर्ने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।

Exit mobile version