
हेटौंडाः ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंले सोमबारदेखि संयुक्तरुपमा कारोबार सुरु गरेको छ । बैंक मर्जरपछि सोमबारबाट औपचारिक रुपमा कारोबार सुरु गरेको हो । दुई बैंक मर्ज भएपछि ग्लोबल आइएमई बैंकको नामबाट बैंक सञ्चालन भएको छ ।
मर्जरपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कुल पुँजी ५७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । देश र बिदेशमा गरी १ हजार १ सय सेवाकेन्द्र रहेको बैंकको ग्राहक ४० लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।
यसैबीच सोमबार हेटौंडास्थित बैंक अफ काठमाडौंको कार्यालयमा एक कार्यक्रमका बीच संयुक्त कारोबारको सुरुवात गरिएको छ । मर्जरपछि बैंकको औपचारिक सुरुवात कार्यको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले गर्नुभयो । कार्यक्रममा बैंक अफ काठमाडौंको हेटौंडा शाखा प्रमुख उजेन्द्रलाल श्रेष्ठ र ग्लोबल आइएमई बैंकको हेटौंडास्थित शाखाका प्रमुख रविन दाहालको उपस्थिति रहेको थियो । बैंक मर्जर भए पनि करिब ६ महिना दुबै शाखा सञ्चालनमा रहने बताइएको छ ।










