बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्मा ।

हेटौंडाः बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिनुभएको समयअनुसार मुख्यमन्त्रीको दावी गर्ने आज अन्तिम दिन हो । बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले गत बिहीबार सूचना सार्वजनिक गरी प्रदेश सरकार गठनको लागि आव्हान गर्नुभएको थियो । प्रमुख शर्माले बागमती प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आव्हान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनको लागि आव्हान गरिएको थियो । बागमती प्रदेश प्रमुख शर्माले पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न आव्हान गर्नुभएको थियो । बागमती प्रदेश सभाको बैठक सुरु भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । संघीय सरकार गठनमा नेकपा एमाले नेतृत्वको ६ दलीय गठनबन्धनबीचको सहमतिमा बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको समाचार आइतबार साँझ सार्वजनिक भएको छ ।

एमाले नेतृत्वको गठबन्धनबीचको सहमतिका आधारमा बागमती प्रदेशको नेतृत्व नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले गर्नुहुने सम्भावना छ । हाल आर्थिक मामिला मन्त्री रहनुभएका जम्कट्टेल मुख्यमन्त्री हुने सम्भावना छ । जमकट्टेलले यसअघिको प्रदेश सभामा पनि संसदीय दलको नेताको भूमिका निर्वाह गर्नुभएको थियो ।

जम्कट्टेल बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा तथा कानुन मन्त्रीको रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ भने वर्तमान प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री हुनुहुन्छ । बागमती प्रदेशमा १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । नयाँ सरकारको लागि प्रदेशमा ७ वटा दलको प्रतिनिधित्व रहेको छ ।