बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा कार्यान्वयनसम्बन्धमा अभिभावकलाई जानकारी गराउँदै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका शिक्षकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री शासनयुक्त पालिका घोषणाको तयारी भइरहेका बेला हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले समुदायमा बालबालिकाको अवस्थाका बारेमा बुझ्न घरदैलो गरेको छ । आइतबार स्कूलका सहायक प्रिन्सीपल अमुल श्रेष्ठको नेतृत्वमा शिक्षकको एक समूहले हेटौंडा–२ र ५ को वनस्खण्डी, सिचाईटोल र सानोपोखरा क्षेत्रमा घरदैलो गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन, बालमैत्री वडा घोषणा तथा सफल कार्यान्वयनका निमित्त हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडा कार्यालयसँगको सहकार्यमा घरदैलो गरिएको सहायक प्रिन्सीपल श्रेष्ठले जानकराी दिनुभयो ।

बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा कार्यान्वयनसम्बन्धमा अभिभावकलाई जानकारी गराउँदै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका शिक्षकहरु ।

घरदैलो गर्ने क्रममा शिक्षकहरुले अभिभावकलाई बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी क्रियाकलाप, बालअधिकार, बालअधिकार संरक्षण, बालबालिकालाई विद्यालय पठाउनुपर्ने आवश्यकताका विषयमा जानकारी गराएको विद्यालयकी शिक्षिका सरु अधिकारीले बताउनुभयो । शिक्षिका सरु अधिकारीले विद्यालय जाने उमेरका केही बालबालिका विद्यालय नियमित नजाने अवस्था हुन सक्ने औँल्याउनुभयो ।

‘हामीले आज घरदैलो गर्ने क्रममा अभिभावकहरुसँग कुराकानी गर्यौं । विशेषगरी भाडामा बस्ने परिवारका बालबालिका नियमित विद्यालय जाँदैनन् कि भन्ने जस्तो अवस्था देखिएको छ’, शिक्षिका अधिकारीले भन्नुभयो, ‘हामीले अभिभावकलाई बालबालिका विद्यालय पठाउनुपर्ने, बालमैत्री शासन व्यवस्थालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकताका विषयमा जानकारी गराएका छौं ।’

बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा कार्यान्वयनसम्बन्धमा अभिभावकलाई जानकारी गराउँदै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका शिक्षकहरु ।

बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले वडास्तरमा विद्यालयलाई जिम्मेवार बनाउने, विद्यालयका शिक्षक, अभिभावकको सहयोगमा बालअधिकार संरक्षण र प्रवद्र्धनको प्रयास गरिरहेको छ । वडामा रहेका विद्यालयका शिक्षक, अभिभावकसँगै उपमहानगरपालिकाले विद्यार्थीलाई समेत सहभागी गराएर बालमैत्री पालिका घोषणाको तयारी गरिरहेको छ ।