हेटौंडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा एक विद्यालय एक नर्स कार्यक्रम सफल भएको बताउनुभएको छ । आइतबार मन्त्रालयको सभाहलमा भएको स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीको बिदाई कार्यक्रममा लामाले विद्यालय नर्स कार्यक्रम सफल भएको जानकारी गराउनुभएको हो ।
गत २०७८ साल कात्तिक २५ गते कार्यभार समाल्नु भएको स्वास्थ्य मन्त्री लामाले आफ्नो कार्यकालमा ५ सय १९ जना विद्यालय नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको बताउनु भएको हो । उहाँले कोरोनाको समयमा ७ वटा प्रदेशमध्य बागमती प्रदेश शतप्रतिशत कोरोनाविरुद्धको खोप लगाउन सफल भएको बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९४ लाख बजेटमा बागमती प्रदेशको पहिलो आयुर्वेद औषधी उत्पादन केन्द्र, चितवनमा स्थापना गरी सञ्चालन गरेको बताउनुभयो ।
यस्तै, बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंंडा अस्पतालमा गर्भवती महिलाको लागि ७३ वटा पोटेबल अल्ट्रा मेशिन र एमआरआई मेशिन खरिद गरि स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको व्यक्त गर्नुभयो । त्यस्तै बागमती प्रदेशमा रहेको ११९ वटा स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुको लागि अब्सटे«टिक फिस्टुला रोगको पहिचान र उपचार सम्बन्धी कार्यक्रम गरेको बताउनुभयो । स्वास्थ्य मन्त्री निमा लामा र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको बिदाई कार्यक्रममा मन्त्रालयका सचिव बद्रि बहादुर खड्का, प्रवक्ता दिपक प्रसाद तिवारी, कर्मचारी, स्वास्थ्य श्रेत्रका पदाधिकारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।











