मन्त्रालयले गरेको गतिविधि बारे जानकारी गराउँदै सचिव कोइराला ।

हेटौंडाः बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले सम्पादन गरेको काम र आगामी कार्यदिशा आइतबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी २०७८ मंसिर १५ गतेदेखि जिम्मेवारी सम्हाल्नु भएको मन्त्री दिपेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा सम्पादन गरेको उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयले आगामी योजनाको बारेमा जानकारी दिँदै मकवानपुरगढीलाई बृहत पर्यटन विकासको लागि थालनी गरेको जनाएको छ । जसको लागि ३ करोड रुपैया बजेट विनियोजन गरिएको उल्लेख छ । यस्तै, मन्त्रालयले मकवानपुरको ईन्द्रसरोबरलाई केन्द्र मानेर पालुङ, चित्लाङ, दामन र दोलखाको भिमेश्वर नगरपालिकालाई फिल्म सिटिको रुपमा विकास गर्न सम्भाव्यता तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको सचिव मदन कोइरालाले जानकारी दिनुभयो । यस्तै, मन्त्रालयले गरेको महत्वपूर्ण कार्यहरुमा प्रदेश पर्यटन ऐन, २०७८ जारी, प्रदेश पर्यटन ऐन, २०७८ मा पर्यटन व्यवसायी एवम् सरोकारवालाको माग समेतलाई ध्यानमा राखेर हेरफेर, प्रदेश पर्यटन नीति, २०७८ को मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ मस्यौदा तयारी कार्य प्रारम्भ रहेको उल्लेख गरिएको छ ।

यस्तै, उहाँले नयाँ पर्यटकीय ब्राण्ड क्यानोपी वाकको निर्माण गर्ने कार्य प्रारम्भ, हाई हिमालय नेचुरल वाल क्वाईम्विङ ट्रेनिङ सेन्टर रसुवा ४ गोसाईकुण्ड क्याङजिङमा कार्य सुरु गरिएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा सम्पदा पदमार्गको निर्माण, राईनो चिल्ड्रेन पार्क भरतपुर चितवन, हिमाल आरोहीको लागि प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको उहाँले बताउनुभयो ।