हेटौंडाः बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले आज बिहीबार सूचना सार्वजनिक गरी प्रदेश सरकार गठनको लागि आव्हान गर्नुभएको छ । प्रमुख शर्माले बागमती प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आव्हान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनको लागि आव्हान गरिएको छ । बागमती प्रदेश प्रमुख शर्माले पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न आव्हान गर्नुभएको प्रदेश प्रमुख कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजिनामा दिएर पनि काम गरिरहनु भएको अवस्थामा प्रदेश प्रमुखले ५ दिनको समय दिएर सरकार गठनको लागि आव्हान गर्नुभएको हो । बागमती प्रदेशमा १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । नयाँ सरकारको लागि प्रदेशमा ७ वटा दलको प्रतिनिधित्व रहेको छ ।
