Home मुख्य समाचार उद्दार गरिएका २ बालिका अभिभावकलाई जिम्मा

उद्दार गरिएका २ बालिका अभिभावकलाई जिम्मा

बालश्रमसम्बन्धी सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः श्रममा रहेको दुई बालिकालाई उद्दार गरेर हेटौंडा उपमहानगरपालिकाले अभिभावकको जिम्मा लगाएको छ । श्रममा रहेका बालिकालाई पुनः श्रममा नलगाउने सर्तमा अभिभावकलाई जिम्मा लगाइएको हो । मंगलबार उपमहानगरपालिकाले बालिकालाई श्रममा नलगाउने र विद्यालय पठाउने भनेर अभिभावकसँग लिखित प्रतिबद्धता गराएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले सोमबार प्लाष्टिकका भाँडा विक्रि गर्दै हिँडेका दुई जना बालिकाको उद्दार गरेको थियो । १० र १३ वर्षका दुई बालिकालाई उपमहानगरपालिकाले सिविन बाल हेल्पलाइन हेटौंडाको सहयोगमा उद्दार गरेको थियो । उद्दार गरिएका दुई बालिकालाई आवश्यक परामर्श गरी अभिभावकको जिम्मा लगाइएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । भारतको उत्तरप्रदेशका नागरिक हेटौंडा–९, लामसुरेमा डेरा गरी बस्ने गरेको र गाउँ–बस्ती डुलेर प्लास्टिकका भाँडा बिक्री गर्ने गरेका थिए । अभिभावककै योजनामा बालिकाहरु पनि प्लास्टिकका भाँडाको व्यापारमा व्यस्त रहने गरेको पाइएको झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार ३ वर्षदेखि उनीहरु हेटौंडामा बसोबास गर्दै आएका छन् ।

अभिभावकसँग बालिकालाई अनिवार्य विद्यालयमा भर्ना गर्नुपर्ने, त्यसको अनुगमन हेटौंडा उपमहानगरपालिकाले गर्ने प्रतिबद्धता भएको छ । पुनः बालिकालाई श्रममा पठाएमा कानून बमोजिम कारबाही गर्ने उहाँले बताउनुभयो । छलफलमा अभिभावकहरुले बालमैत्री अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Exit mobile version